पञ्‍चकन्या भत्ता प्रकरण : ‘आफू दोषी ठहरिए फाँसीमा झुन्डिन तयार छु’- नरेश पुडासैनी


नुवाकोट- जिल्ला पञ्‍चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले भत्ता चोरी प्रकरणमा आफू दोषी ठहरिए फाँसीमा झुन्डिन तयार रहेको बताएका छन् ।

गाउँपालिकाले बिहीबार राखेको बिदाई कार्यक्रममा मन्तव्यका क्रममा पुडासैनीले आफूले मनसायगत ढंगले यो घटना घटाएको जसरी समाचारहरु सम्प्रेषण हुँदा दुख लागेको बताउँदै आफू दोषी रहेछु भने फाँसीमा झुन्डिन तयार रहेको बताएका हुन् । ‘राज्यको यत्रो दुर्घटना हुँदाखेरी नागरिकहरु राज्य बचाउनतिर लाग्नुपर्छ । व्यक्ति बचाउनतिर होइन । नरेश पुडासैनी दोषी रहेछ भने जेलमा गएर जिन्दगी बिताउनु तयार छ । तपाईंहरुको अगाडि आएर फाँसीमा झुन्डिन तयार छ,’ उनले भने ।

प्रहरी र सम्बन्धित निकायले घटनाको वास्तविकता सोचेजस्तो छिटो पत्ता नलागेको अवस्थामा साँच्चै घटना सार्वजनिक हुन नसकेको हो अथवा नगरिएको हो, त्यो कुरा समयले बताउने भन्दै उनले कसैको कारण यो केस सार्वजनिक भएको छैन भने त्यतातिर पनि सबै मिलेर खबरदारी गर्नुपर्नेमा जोड दिए ।

आफू जागिर त्याग्न पनि तयार रहेको भन्दै पुडासैनीले बद्‌मासी गर्नेलाई पत्ता लगाएर कानुनी कठघरामा ल्याउनका लागि पञ्‍चकन्यावासीलाई आग्रह गरे । ‘तपाईं/हाम्रो भूगोलबाट राज्यको ५३ लाख रुपैयाँ हराएको छ । भलै नरेश पुडासैनीको जागिर जाओस् । मेरो श्रीमती र दुई जना बच्चासहित हाम्रो ४ जनाको फ्यामिली छौं । हामी गिट्टी कुटेर नै खाउँला । तर राज्य हार्नु हुँदैन । बद्‌मासी गरेर जसले पैसा चोरेको छ । त्यो चोर पत्ता लगाउन आम पञ्‍चकन्याका नागरिकहरुलाई यो मञ्‍चबाट आह्वान गर्न चाहन्छु ।’

आफू प्रशासनिक लडाइँमा रहेको भन्दै उनले सहकर्मीहरुलाई हाँसेर बिदाइ गर्न समेत आग्रह गरे । ‘यतिबेला म प्रशासनिक लडाइँमा छु । प्रशासनिक कोमामा छु । मेरो प्रशासनिक क्यारियर अगाडि बढ्ला या यहीं समाप्त होला ? म त्यस्तो लडाइँ लड्न जाँदैछु । त्यसैले तपाईंहरुले आँसु झारेर होइन हाँसेर हिक्मतसाथ बिदाइ गर्नुहोस् । एकदिन त्यो लडाइँ जितेर यहाँहरुसँग अंकमाल गर्न आउने वाचा पनि यसै मञ्‍चबाट गर्न चाहन्छु ।’

उनले कर्मचारीहरुलाई आफूसँग नदाँजेर नागरिकहरुको अवस्था हेरेर त्यसअनुसार सेवा प्रवाह गरेर गतिशीलता प्रवाह गरिदिनका लागि अनुरोध गरे । ‘काम गर्दै जाँदा धेरै गल्तीहरु हुन्छन् । यो कर्मचारी प्रशासन हाकिममुखी प्रशासन पनि हो । कहिलेकाहीं गल्ती हुँदाखेरी तितो पनि बोल्नु पर्ने पोजिसनको कुरो हुँदोरहेछ । तितोमीठो जे बोले पनि ती एउटा प्रशासनिक घटनाक्रम थिए भनेर लिइदिन अनुरोध गर्दछु । भलै यहाँहरुबाट पनि धेरै गल्ती हुने गरेको मैले देख्नेको छु । म यहाँबाट कति सुधार गर्न सकेँ/सकिनँ । नसकेको रेछु भने पनि म माफी चाहन्छु ।’

‘आफ्नो कर्तव्य ड्युउटीप्रति समय दिएर कर्तव्यनिष्ट भएर काम गर्नु होस् । गल्ती नगर्नुहोस् । गल्ती गर्नुहुँदा मेरो आफ्नै गल्ती हो भन्ने कार्यालय प्रमुख पाउनु होला/नपाउनुहोला । अहिलेसम्म त पाउनु भएकै हो । तपाईंहरुले गर्नु भएको गल्तीको एकमुष्ठ रुपमा पञ्‍चकन्या गाउँपालिकाका नागरिकहरुप्रति म माफी माग्न पनि चाहन्छु ।’

कार्यालय सञ्‍चालनको अप्ठेरा, सडक यातायातलगायत निकै कष्टप्रद समय गुजारेर पञ्‍चकन्यामा रहँदा काम गरेको स्मरण गराउँदै पुडासैनीले अहिलेको प्रगति र विकास जनताले मूल्यांकन गर्ने विषय रहेको बताए । ‘म चित्रबहादुर थापा बालाई यो मञ्चबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । उहाँहरु आफू बस्न भनेर भूकम्पपछि बनाउनु भएको घर हामीलाई भाडामा दिनु भएपछि हामीले कार्यालय सञ‍्चालन गरेको अवस्था थियो । विद्यालयले दिएको कोठामा अध्यक्षज्यू र उपाध्यक्षज्यू दुईटा टेबुल राखेर कार्यालय सम्पादन गरेको अवस्था थियो । भिडियोहरु बोकेर मात्र यहाँ आइपुग्ने अवस्था थियो । कति परिवर्तन भए । के कति अग्रगामी स्वरुपहरु देखिए । ती कुराहरुको मूल्याकंन यहाँका नागरिकहरुले मनमनै गर्नु भाको होला भन्ने पनि लागेको छ ।’


शनिबार, असार १२ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार