सुरेन्द्र पाण्डे सहित तीन मन्त्री थप्ने बालुवाटारको तयारी, नाम सहित


प्रधानमन्त्री शर्मा ओलीले रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी थालेको बुझिएको छ । आज दिउँसो ४ बजे बस्ने नेकपा सचिवालयको बैठकले तीन मन्त्री थप्ने बालुवाटारको प्रस्तावलाई मूर्त रूप दिइने भएको छ ।

सचिवालयमा प्रस्ताव नै नल्याई दुई जना अध्यक्षको सहमतिमा तीन जना मन्त्री थपिने सम्भावना बढेको हो । उच्च स्रोतका अनुसार आज साँझसम्म नयाँ मन्त्री बन्ने सूचीमा पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डेको नाम चर्चामा छ । सम्भवतः अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डे र सञ्चार मन्त्रीमा जनार्दन शर्माको नाम पक्कापक्की देखिएको छ ।

सञ्चारप्रति सँधै अरुचि देखाएका शर्माले पार्टीभित्र उत्पन्न पछिल्लो असहज अवस्थामा सँगै खटिएका पौडेललाई अर्थ मन्त्रालय दिँदा आफूलाई कम्तिमा गृह हुनुपर्ने भन्दै चर्को लबिङ्ग शुरु गरेको बताइन्छ ।

शहरी विकास मन्त्रीमा प्रस्तावित नेकपा नेता सुरेन्द्र पाण्डेले भने आफ्नो रुचिबेगरको मन्त्रालय नस्वीकार्ने जानकारी अध्यक्षद्वयलाई दिसकेको स्रोत भनाइ छ ।

यसले गर्दा अर्थमा बिष्णु र अर्को कुनै मन्त्रालयमा जनार्दनको नियुक्ति हुने सम्भावना प्रवल छ । पार्टी एकीकरणदेखि दुई नेतावीच अनेक सम्झौताका साक्षी रुरु (रुपन्देही र रुकुम) बिष्णु र जनार्दनले आज थपिने क्याबिनेटमा पूर्व एमाले र माओवादीको प्रतिनिधित्व गर्नेछन् ।

बिष्णुको अर्थमन्त्रीमा नियुक्तिले पाँच नम्बर प्रदेशको राजधानी बुटवलबाट दाङ्ग सरेकोमा उत्पन्न आक्रोशलाई केही मत्थर पार्ने नेताहरुको हिसाबकिताब रहेको श्रोत बताउँछ ।

पूर्व उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य भीम रावलको नाम चर्चामा ल्याइए पनि उनी वर्तमान अवस्थामा उपप्रधानसहितको मन्त्री बन्नसक्ने सम्भावना देखिँदैन ।

यसबीच अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका श्रृंखलाबद्ध भेटमा प्रधानमन्त्री ओलीले पूर्व माओवादी पक्षबाट हुनसक्ने मन्त्रीहरूको सम्भावित नाम समेत आफैँले प्रस्ताव गरेको बताइएको छ ।

ओलीले पटकपटक प्रचण्डसँग ‘टोपबहादुर रायमाझीलाई बनाउनुपर्यो । लेखराज भट्ट र रामबहादुर थापा ‘बादल’ लाई कायम राख्नुपर्यो । अनि प्रभु साहलाई पनि बनाउनु पर्यो । बरु, अरु नभए हरिबोल गजुरेललाई भएनि बनाम्’ भनेर धेरैपटक प्रस्ताव गरे पनि प्रचतण्डले कुनै प्रतिक्रिया नजनाएको स्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्रीले नै माओवादीको तर्फबाट बनाउने भनिएका मन्त्रीहरूको नाम समेत उल्लेख गर्न थालेपछि फालिने र राखिने मन्त्रीहरूको अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री शिक्षामन्त्री गिरिराज मणि पोखरेललाई कुनैपनि हालतमा निरन्तरता नदिने पक्षमा देखिएको बताइन्छ । पाठ्यक्रम र उपकुलपति नियुक्तिको विषयमा पोखरेल विवादमा तानिएका थिए ।

तर, उपकुलपति नियुक्तिमा सबै प्रधानमन्त्रीले चाहेबमोजिम गरिएको बताइन्छ । उपकुलपति नियुक्तिमा पोखरेलले गरेको सिफारिसलाई बालुवाटारले कुनै भाउ नदिएको स्रोतको दाबी छ । त्यसैगरी वनमन्त्री शक्ति बस्नेत पनि फालिने सूचीमा परेका छन् ।

यहि क्रममा वर्षमानलाई कुलमानको विषयमा डाम्ने र फाल्ने शंका गरिए पनि उनलाई कायम राख्नेमा प्रधानमन्त्री फेरि सकारात्मक भएको स्रोत बताउँछ । यसबीच पुनले प्रधानमन्त्रीसँग कम्तिमा पनि चार पटक भेट गरेर बिग्रेको कुरो मिलाइसकेको स्रोतको दाबी छ ।

तर, पूर्व एमालेतर्फबाट नियुक्त कृषि मन्त्री घनश्याम भुसालको बारेमा भने प्रधानमन्त्री कहिल्यै सकारात्मक देखिएका छैन । आफू निकट भएपनि सहकारी मन्त्री पद्यमा अर्याललाई बिदा गर्ने मुडमा प्रधानमन्त्री देखिएका छन् । त्यसैगरी खेलकुद मन्त्री जगत विश्वकर्माले पनि बिदा पाउने निश्चित झैँ देखिन्छ ।


मंगलवार, आश्विन २० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार