भेट बाँकी रह्याे कमरेड बाेगटी


राजेन्द्र पुडासैनी

कमरेड पोस्टबहादुर बोगटीसँग २०४६ सालताक जनआन्दोलनका मोर्चा र बैठकहरूमा धेरै पटक भेट हुन्थ्यो। त्यती बेला हामी तत्कालिन् नेकपा मालेका कार्यकर्ताहरू बेजोड फुर्तीका साथ संगठन बिस्तारमा थियौं। बिध्यार्थी फाँटमा काम गर्दा त अखिल पाँचौ त हिराको टुक्रा जस्तो नै! परिवर्तनकारीहरू सबैले मन पराउने। पोस्ट बहादुर दाईले म लगायत त्यतीखेरका नुवाकोटका केही मालेका साथीहरूलाई नेकपा मशालमा लैजान ठुलो कोशिस गर्नु भयो। धेरै पछी उहाँसंग नेपालमा भेट हुने संयाेग जुर्‍याे जतिबेला उहाँ पर्यटनमन्त्री हुनुभएको थियो। “राजेन्द्र कमरेड लगायतका केही जिलिंगका मालेका कमरेडहरूलाई माओबादी बनाउन खोजेको सकिएन,” बोगटी सरले भन्नु भयो।

माओकाे काेटेसन “शसस्त्र क्रान्ती सम्पन्न गर्न चाहीने आधार क्षेत्र, लालसेना र हतियार” नेपालको अर्धसामन्ती र अर्धऔपनिवेसिक राज्यको संरचनामा उतिखेर संभव हुँदैन भन्ने कुरामा हामीलाई उतिखेर बिस्वास थियो। कुरा मिलेन र स्थानीय रूपमा नुवाकोटमा हामी बाममोर्चा र उहाँहरू (स्वर्गीय गणेश पण्डीत, कुमार पंडीत, तोयानाथ थपलिया, महत शारदारमण नेपाललगायत) संयुक्त राष्ट्रीय जनआन्दोलन तथा नेपाली काँग्रेसबाट ध्रुब अधिकारी, रामप्रसाद जोशी, मुकुन्द सिटौला, स्वर्गीय बिष्णु आचार्य लगायतका साथीहरू मिलेर संयुक्त रूपमा जनआन्दोलनमा सहभागी भएका थियौं।

उता काठमाण्डौमा भने त्यतीबेलाका चर्चित नुवाकोटे बिध्यार्थी नेताहरू राजेन्द्र लोहनी र केशव पाण्डेहरू जेलमा परिसक्नु भएको थियो। नेतृ बिन्दा पाण्डे आन्दोलनको अग्रमोर्चामा हुनुहुन्थ्यो भने महेन्द्र पाण्डे बुध्दिजिबी फाँटकाे सक्रिय नेतृत्वमा। नुबाकोटमा मालेका भरत पुडासैनी, मशालका ठाकुर गुजुरेल र हिरादत्त दहालहरू पहिल्यै जेलमा हुनुहुन्थ्यो। नेताहरू कृष्णदास श्रेष्ठ, रामशरण प्याकुरेल, नारायण खतिवडाहरू बाहिर आन्दोलनको मोर्चामा हुनुहुन्थ्यो।

म बेलायत आएको भएपनि राजनितीसंग मेरो नाता निरन्तर गॉंसिएकै छ र थियाे। एमाले पार्टी र त्यसपछी पार्टी बिभाजन पछि बनेको माले समेतमा केही समय संलग्न भएकोले होला, तत्कालिन जिल्ला बिकास समितीका सभापति भरत ढुंगानासंग मेराे निरन्तर सम्पर्क भैरहन्थ्यो। पहिलो पटक बिदामा नेपाल जॉंदा भएको भेटमा पोस्ट बहादुर दाईको छोरा रबि बोगटी जेलमा रहेको र बाेगटी परिवार प्राय: सबै भुमिगत भएका कारण हजुरआमालाई हेर्न समस्या भएको थियाे। साेही मानवीय समस्यालाई सुल्झाउन ढुंगाना र म जिल्ला प्रहरी कार्यालयमा गएर मेरो नाता समेत पर्ने त्यतिखेरका प्रहरी प्रमुखसँग कुरा गरेर रबिलाई जेल मुक्त गरियो।

बिडम्वना! रबीलाई जाेगाउन लागि पर्ने ढुंगाना र स्वयं रबी पछि मारिए। अन्यायविरूद्ध लड्ने दुई युवा नेताहरूलाई सेनाले समातेर हत्या गरेकाे खबर स्विकार्न कठिन भयाे। बिदा सकिएर म लण्डनतिर तेर्सिएको केही समयपछी ढुंगाना नेकपा माओबादीमा लागिसक्नु भएको थियो। जिबिसको सभापतिको पद, गाडी, घर सुबिधा आदि सबै छोडेर। पाेस्टबहादुर बाेगटीकाे सादगीपन पनि ढुंगानामा पनि देखिन्थ्याे। शायद बोगटीटारमा बिध्यालय पढ्ने क्रममा पोस्टबहादुर दाइसंग भरत ढुंगानाको पहिल्यै गहिरो सम्बन्ध रहेकाे हुनुपर्छ।

जीवनजस्तै हुन्छ क्रान्ति। क्रान्तिकाे बाटाे सिधा हुँदैन। तर मैले पोस्टबहादुर दाईसंग मैले पटक-पटक जनयुध्दको सान्दर्भिकतामा बिमती राखेकाे थिएँ। त्यतिखेर म मनगढन्ते थिएँ वा सिंगाे माओबादी नेतृत्व। त्यसकाे छिनाेफानाे आधुनिक नेपालका अध्येताहरूले गर्लान्। तर मनाेगत विश्लेषण नै सही, यदि हिंसा चर्कन्थेन भने, कमसेकम भरत र रबीहरू युद्धमा हेलिन्थेनन् र कमसेकम यी स्वप्नजिवि कमरेडहरूलाई हामीले असमयमै गुमाउनुपर्थेन हाेला। भन्न त फेरि पनि सकियाे-उहाँहरूकाे सहादत युगकाे माग थियाे।

कमरेड बाेगटी, हिजाे संयाेग मिलेन। तर मनमा रिक्तता छाउँछ- आज तपाईं ज्युदो हुनुभएको भए एउटै पार्टीमा र एकै ठाउँमा रहेर जनताको जनजिबिका, पार्टीको बिधी, पध्दती र समाजवादी यात्राको बारेमा यतिखेर झनै घनिभुत छलफल गरी रहेका हुने थियाैं। तर दाइ तपाईं पनि अलि असमयमै जानुभयाे। याे जीवनमा तपाईंसँगकाे छलफल र बहस स्थगित रह्याे प्याराे दाइ। प्याराे कमरेड। श्रद्धाञ्जली सादगी नेता।

छैटौं स्‍मृति दिवस २०७७ भाद्र ३०


बिहीबार, आश्विन १ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार