यो संकटको बेलामा उत्कृष्ठ काम गर्ने पत्रकारहरुको अभिनन्दन गर्दछौं कपिलदेव खनाल अध्यक्ष



कपिलदेव खनाल
अध्यक्ष
नेपाल पत्रकार महासंघ नुवाकोट शाखा
नुवाकोट–नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल २०६० सालदेखि नुवाकोटको पत्रकारितामा सक्रिय छन् ।
तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डप बञ्चरेमा २०४१ सालमा जन्मिएका खनालले प्रारम्भिक शिक्षा र एसएसलीसम्मको अध्ययन गाउँमै गरे । गाउँमा रहँदा २०५७ सालदेखि डेढ वर्ष भित्तेपत्रिका प्रकाशन गरेका खनालले एसएलसी पछि पिपल्स क्याम्पसबाट पिसिएल तह, आरआर क्याम्पसबाट ब्याचलर पत्रकारितामा उत्र्तिण गरे । हाल पुर्वाञ्चल विश्वविद्यालयमा पत्रकारितामा मास्टरडिग्रिको अध्ययन गरिरहेका खनाल नुवाकोटका विभिन्न सञ्चार गृहमा आवद्ध छन् । टिभि त्रिशुली, रेडियो त्रिशुली, इमेज साप्ताहिक र खबरपेज डटकमका सञ्चालक समेत रहेका खनालले यस अघि गोरखापत्र दैनिक, राष्ट्रिय समाचार समिति, इमेज च्यानल, अनलाईन खबर डटकम लगायत राष्ट्रिय सञ्चार माध्यममा आवद्ध रहेर काम गरिसकेका छन् । २०६८ सालमा राष्ट्रियस्तरको जोखिमपूर्ण पत्रकारिता पुरस्कार र फोटो क्वलले आयोजना गरेको पहिलो राष्ट्रिय फोटो प्रतियोगितामा समाचार विधामा प्रथम भएका खनाल अहिले नेपालका सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक रेडियो प्रशारक संघ (अकोराव नेपाल) को केन्द्रिय सदस्य समेत छन् ।
प्रस्तुत छ उनै खनालसंग अहिलेको नुवाकोटको पत्रकारिताको अवस्था र पत्रकार महासंघ नुवाकोटको गतिविधिमा केन्द्रित रहेर गरेको कुराकानी ।
१. कोभिड–१९ को यो महामारीमा नुवाकोटको पत्रकारिता कसरी चलिरहेको छ ?
चैत ११ गतेदेखि त कोभिड–१९ का कारण देशब्यापी रुपमा लकडाउन नै भयो । असार ७ गते आंशिक रुपमा लकडाउन खुल्ला भएपनि नुवाकोटको अवस्था त्यस्तो छैन । आइतवारबाट नुवाकोटमा १० दिनका लागि निषेधाज्ञा जारी भइरहेको छ । त्यो चैत ११ गतेपछिको अत्याशलाग्दो समय होस् वा अहिलेको अप्ठ्यारो परिस्थिति नुवाकोटका पत्रकारहरुले निर्वाह गरेको भुमिका प्रशंसनिय छ । नागरिकहरुलाई कोभिड–१९ को बारेमा सबै भन्दा पछिल्लो जानकारी दिने देखि समुदाय सुरक्षित राख्नका लागि यहाँका पत्रकारहरुले गरिरेको कार्य तारिफयोग्य छ । कोरोना संक्रमण फैलिएको स्थानमै पुगेर होस् वा जहाँकही आफ्नो स्वास्थ्यको पर्वाह नगरि पत्रकाहरुले समुदायका लागि सूचना संकलन र आम सञ्चारका माध्यमबाट सम्प्रेषण गरिरहेका छन् । केही समय छापा माध्यमको प्रकाशन स्थगन भएपनि यहाँका केही सञ्चार गृहले नागरिकहरुलाई सूचित गराउनका लागि लकडाउनकै समयमा पनि पत्रिका प्रकाशनमा निरन्तर ल्याउनु नागरिक केन्द्रित पत्रकारिता प्रति देखिएको समर्पणको उच्च नमूना हो ।

२. त्यसरी आफ्नो स्वास्थ्य जोखिममा राखेर काम गरिरहेका पत्रकारहरुको प्रोत्साहन र हौसलाका लागि महासंघको के योजना छ ?
हामी यो विषयमा असाध्यै संवेदनशिल छौं । हुन त पत्रकारहरुको अहिलेको भूमिका र सक्रियताको आम नागरिक तथा राज्यको विभिन्न अंगहरुले मुल्याङ्कन गर्ने वा हेर्नु पर्ने हो । अनौपचारिक रुपमा यो महामारीको अवस्थामा पत्रकार साथीहरुले गरिरहनुभएको कार्यको अधिकांशबाट प्रशंसा प्राप्त गरेको छु । तर यसरी आफ्नो ज्यान नै बाजीमा राखेर गरेको कामको ठिक समयमा ठिक ढंगले कदर हुनुपर्छ भन्ने नेपाल पत्रकार महासंघ नुवाकोटको मान्यता छ । पत्रकारहरुको दुःख, सुख, मेहेनत र समर्पणलाई महासंघले पनि नजिकैबाट हेरिरहेको छ । यसैका लागि हाम्रो भर्खरै (साउन २० गते) सम्पन्न कार्य समिति बैठकले यहाँका पत्रकार र सञ्चार गृहहरुले विश्व महामारीमा नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि गरेको कार्य र प्रयासको उच्च मुल्याङ्कन गरेका छौं । सबै पत्रकार साथीहरु र सञ्चार गृहको भूमिका कम छैन, तै पनि उहाँहरु मध्ये केही पत्रकार साथीहरुलाई हामीले कोभिड–१९ को अवस्थामा नागरिकहरुको हिफाजतका लागि गरेको पत्रकारिताको कदर गर्दै सम्मान गर्ने निर्णय गरेका छौं । त्रिशुली प्रबाह साप्ताहिकका प्रकाशन तथा सम्पादक शरण उत्सुक सापकोटा, नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी डवली खबर डटकमका सम्पादक सुनिल श्रेष्ठ, गोरखापत्र दैनिकका जिल्ला संवाददाता रामहरि गजुरेल, रेडियो नेपालका संवाददाता भोलाराज पौडेल, एभिन्युट टिभिका संवाददाता श्रीराम नेपाल, राससका नुवाकोट प्रतिनिधि जमुना गजुरेल र नुवाकोट पुकार सप्ताहिकका सम्पादक सुकदेव दाहाललाई पत्रकार महासंघको तर्फबाट कदर पत्र प्रदान गर्दैछौं । त्यसका साथै कोभिड–१९ बाट समुदाय आक्रान्त भइरहेको समय र त्यसको नियन्त्रणका लागि भएको लकडाउनमा निरन्तर सञ्चालनमा रहेर नागरिकहरुलाई सू–सूचित गर्ने नुवाकोटका १३ वटा सञ्चार गृहहरुलाई पनि कदर पत्र प्रदान गर्न लागिरहेका छौं ।

३. स्वास्थ्य बीमा, स्वास्थ्य सामाग्री जस्ता अत्यावश्यक कुराहरु यहाँका पत्रकारहरुले प्राप्त गरिरहेका छन् ?
पक्कै पनि । फिल्डमा खटिने पत्रकारहरुको सुरक्षाका लागि हामीले स्वास्थ्य सामाग्री निरन्तर रुपमा उपलब्ध गरायौं । सहयोगी व्यक्ति, संस्थाहरुलाई महासंघले गरेको आग्रहका आधारमा हामीलाई तत्कालिन अवस्थामा मास्क, स्यानिटाइजर, पञ्जा लगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध भए । ति सामाग्रीहरु हामीले प्रत्येक सञ्चार गृहमा पुगेर पत्रकारलाई उपलब्ध गरायौं । त्यसका साथै जिल्लामा क्रियाशिल ९५ जना पत्रकारहरुको कोरोना बीमा पनि गराएका छौं । जनही एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गर्नका लागि हामीलाई विदुर नगरपालिका र रुडेक नेपालले आर्थिक सहयोग गरेको छ । त्यसका लागि नगरप्रमुख सञ्जु पण्डित र रुडेकका अध्यक्ष मिनकुमार केसीलाई यही पत्रिका मार्फत् पनि धन्यवाद ज्ञापन गर्न चाहान्छौं । यसका साथै लकडाउनकै समयमा नुवाकोटमा कोरोना भाइरसको संक्रमण फैलन थाल्ने वित्तिकै स्वास्थ्य कार्यालय नुवाकोटले हामी ३० जना पत्रकारहरुको आरडिटी परीक्षण पनि गरेको थियो । त्यसका लागि तत्कालिन प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरे धन्यवादको पात्र हुनुहुन्छ ।
कोभिड–१९ (नोबेल कोरोना भाइरस) ले विश्व आक्रान्त भएको र नुवाकोटमा समेत कोरोना भाइरसको संक्रमण देखिएको बेलामा स्वास्थ्य चुनौतीलाई शिरोपर गर्दै समाचार संकलनका लागि कार्यक्षेत्रमा सक्रिय रहनुभएका पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउनुहुने संस्था र व्यक्तिहरु स्मरण गर्न चाहान्छु । उहाँहरुको सहयोगकै कारण सुरक्षित रुपमा हामीले काम गर्न पाएको अवस्था हो । चक्रदेव पोलिक्लिनिक, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट, स्वास्थ्य कार्यालय, संघीय सांसद हितबहादुर तामाङ, बागमती प्रदेश उपसभामुख राधिका तामाङ, सामाजिक अभियन्ता अनुजकुमार श्रेष्ठ, सामाजिक सशक्तिकरणका लागि असल मानव संस्था, कोरियामा बस्ने नुवाकोटका नागरिकहरुको समाज, प्रेस युनियन नुवाकोट, पत्रकार महासंघ बागमती प्रदेश, प्रेस रजिष्टारको कार्यालय बागमती प्रदेश, ट्रेड युनियन काँग्रेस नुवाकोट, बागमती प्रदेशका सांसद बद्री मैनाली, नेकपा नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेशका सांसद हिरानाथ खतिवडा लगायतका संस्था र व्यक्तिहरुले सहयोग गर्नुभएको छ ।

४. कोभिड–१९ र बन्दाबन्दी पछि जिल्लाको सञ्चार गृह र पत्रकारहरुको अवस्था कस्तो छ ?
चौतर्फी संकट र सन्नाटा छाएको यो अवस्थामा सञ्चार गृहहरु पुर्ववत् रुपमा सञ्चालन हुनसक्ने त अवस्था नै भएन । पत्रकार साथीहरुले पनि मुस्किलले आफ्नो दैनिक कार्य गरिरहनु परेको अवस्था छ । व्यवसायीक रुपमा काम गरिरहेका साथीहरु उग्र समस्यामा छन् । श्रमजीवी पत्रकारहरुले नै सञ्चालन गरेका सञ्चार माध्यमहरु आर्थिक संकटमा गुज्रिरहेको छ । यो बाहिरबाटै पनि हेर्न र देख्न सकिने अवस्था हो, आन्तरिक रुपमा यो भन्दा ठूला समस्यामा साथीहरु गुज्रिरहेको हुनसक्नुहुन्छ । त्यसैले लकडाउनको असर अनि प्रभाव जिल्लाका सञ्चार गृहहरु र पत्रकारलाई के कस्तो छ त्यसको अनुगमन र विश्लेषण गर्न पत्रकार महासंघ बागमती प्रदेश कार्य समिति सदस्य रामहरि गजुरेलको संयोजकत्वमा तीन सदस्यिय समिति बनाएका छौं । त्यसमा पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाल र कोषाध्यक्ष सुनिल विष्ट सदस्य हुनुहुन्छ । उहाँहरुको समितिले खास अवस्थाको सुष्म अध्ययन गर्नेछ र वस्तुस्थिति सार्वजनिक गर्नेछौं ।

५. पत्रकार माथी आक्रमण, सञ्चार सामाग्री तोडफोड तथा त्रास र लोभ देखाउने क्रम नुवाकोटमा बढ्दो छ । यस्ता कार्यलाई निरुत्साहित गर्न के गर्न सकिन्छ ?
पक्कै पनि । हामीले तारकेश्वर गाउँपालिकाको गाउँ सभाको घटनालाई हेर्ने हो भने पनि प्रेस स्वतन्त्रता हनन् र उदण्डताको कहालिलाग्दो नमूना पाउनसक्छौं । जिम्मेवार जनप्रतिनिधिहरु नै पत्रकारमाथि आक्रमण गर्ने र क्यामेरा तोडफोडामा सम्लग्न हुनु निन्दनिय छ । यत्ति मात्रै पनि होइन नुवाकोटमा पछिल्लो समय पत्रकारहरुमाथि अनावश्यक लाञ्छना लगाउने, हप्काउने, आफु अनुकुल समाचार लेखाउन राज्य कोषलाई प्रयोग गर्ने जस्ता घटनाहरु देखिएका छन् । यसले ठूलो संकट र दुर्घटनाको संकेत गरिरहेको छ । जनतालाई सत्य देखाउने आँखाको रुपमा रहेको पत्रकारलाई यसरी त्रास वा प्रलोभनमा पार्नु, आक्रमण गर्नु सर्वथा गैरकानूनी हो । त्यसैले सम्वन्धित सबैमा प्रेसको स्वतन्त्रता रक्षा गर्न र निर्भयतापूर्वक काम गर्ने वातावरणको सृजना गर्न अपिल गर्दछु ।
साथै पत्रकार साथीहरुले समेत आफ्नो मर्यादा, आचारसंहितको पूर्ण पालना गर्नुपर्ने देखिन्छ । कहिकतै आचरणमा चुकेकै कारण पनि यसरी हामीहरुलाई प्रयोग र दुरुपयोग गर्ने प्रयास भइरहेको हुनसक्छ । नागरिकहरुलाई सूचित गर्ने जिम्मेवारीकै कारण पत्रकारहरुले प्राप्त गरिरहेको प्राथमिकता र अवसरलाई आफु अनुकुल स्वार्थमा प्रयोग गर्न थालियो भने पेशाको मर्यादा र वजन कम हुँदै जानेछ । त्यसैले हामीले आफ्नो कर्तब्यलाई पूर्ण रुपमा पालन गर्नु र हामी कसका लागि काम गरिरहेका छौं भन्ने कुराको स्वयमं समीक्षा गर्नु जरुरी छ ।

६. अन्त्यमा, नुवाकोटका स्थानीय सरकारले पत्रकार र सञ्चार गृहलाई सहयोग पुग्ने खालका नीति तथा कार्यक्रमहरु ल्याएका छन् ?
चालु आर्थि वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा नुवाकोट जिल्लाका केही स्थानीय सरकारले जिल्लाका आम सञ्चारका माध्यमहरुको स्थायित्व र समानुपातिक विज्ञापन नीति लागू गर्नका लागि केही प्रयास भएको पाइन्छ । विदुर नगरपालिकाले विगतका वर्षहरुदेखि सञ्चार विकास कोष स्थापना गरी यहाँका श्रमजिवी पत्रकारहरुले नै सञ्चालन गर्ने साना सञ्चार माध्यमहरुको टेवाका लागि गरेको प्रयासकै नमूनाको रुपमा पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका, शिवपुरी गाउँपालिका र म्यागङ गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सञ्चार माध्यमलाई सहयोग गर्ने नीतिगत निर्णय गरेको छ । त्यसका साथै पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाले बर्षेनी विकास पत्रकारितामा क्रियाशिल पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गर्ने नीति पनि पारित गरेकोमा छ । यसबाट हाम्रा स्थानीय सरकारहरु पत्रकार र सञ्चार माध्यममैत्री बन्ने अभ्यासमा छन् भन्न सक्छौं । बाँकी स्थानीय सरकारहरुलाई पनि यस्ता पत्रकारहरुलाई उत्साही पार्न नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि पनि आग्रह गर्न चाहान्छौं ।


बिहीबार, श्रावण २९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार